
2009-02-22,Sunday
सुटिङमा जान युनिटको गाडी कुर्ने झन्झटबाट मुक्त छिन् अभिनेत्री झरना थापा । आफ्नै सवारीसाधन भएकाले समयको समेत बचत भएको महसुस गरेकी छिन् उनले । भन्छिन्, 'धेरै सजिलो भएको छ, आफ्नै सेड्युलअनुसार काम गर्न पाइन्छ गाडी कतिवेला आउला भनेर कुरिरहनु पर्दैन ।'
काठमाडौंको सडक साँघुरो भएर के भो त ! गाडीमा हुइँकिने कलाकारहरू बढ्दै छन्
तीन वर्षदेखि 'भिटारा सुजुकी' जिप प्रयोग गर्दै आएकी झरना उपत्यकाबाहिर सुटिङमा पनि आफ्नै गाडीमा हिँड्छिन् सर्रर । 'पोखरा त धेरैपटक एक्लै गएकी छु, अस्ति भर्खर दाङ पुगेर आएँ,' उनले सुनाइन् । फोरहि्वल भएकाले जुनसुकै स्थानमा जान सजिलो भएको अनुभूति गरेकी रहिछन् यी हिरोइनले । उनलाई लाग्छ नेपालमा जिप स्टाइलको गाडीको फाइदा निकै छ । अग्निसाक्षी, विदाइ, महान्लगायत फिल्मका केही सिनमा पनि देखिएको छ उनको सवारीसाधन । आफ्नो गाडीमा अभिनय गर्दा रमाइलो लाग्छ, हो ? झरना मुस्कुराउँदै भन्छिन्, 'आफैंले चलाउँदै आएको गाडी भएपछि अलि सहज हुन्छ ।'
अभिनेता निखिल उप्रेती पनि फोरहि्वल गाडी हाँक्छन् । 'डाइहाटस् टेरिस' गाडी हाँक्दै आएका निखिललाई लाग्छ नेपालको भूगोलअनुसार फोरहि्वल गाडी ठीक छ । आफ्नो घर काठमाडौंबाहिर भएकाले पनि घर जान-आउन सजिलो होस् भनेर फोरहि्वल मोटर किनेका निखिलले एक वर्षअघि ३० लाख तिरेको सुनाए । भन्छन्, 'मलाई घाटा छैन अहिले मोल बढेर ३७ लाख पुगेको छ ।' सोही ब्रान्डको पुरानो मोडलको गाडी प्रयोग गर्दै आएका निखिलले एक वर्षअघि मात्रै ००८ मोडलको गाडी खरिद गरेका थिए ।
उक्त साधनमा सयर गर्दा आराम महसुस हुने सुनाए निखिलले । फोरहि्वल भए पनि ठिक्कको साइज भएकाले काठमाडौंका साँघुरा सहरमा पनि सजिलै हिँड्न सकिने र पार्किङमा समस्या नहुने अनुभव गरेका छन् निखिलले ? तपाईसँग कसैले कुन गाडी किनौं भनेर सोध्यो भने डाइहाट्स सिफारिस गर्नुहुन्छ ? निखिल भन्छन्, 'म कम्पनीको मान्छे होइन, तर पनि मेरो गाडीको विषेशता मज्जाले बताइदिन्छु ।'
पपगायक धीरज राईले मारुती '८००' बाट चारपांग्रे सवारीसाधन प्रयोग सुरु गरेका थिए । डेढ वर्षजति मारुती चलाएका धीरजले हालै सोही ब्रान्डको नयाँ मोडलको 'मारुती जेन' किनेका छन् । काठमाडौंका साँघुरा सडकका लागि आफ्नो गाडी सजिलो भएको धारणा राख्ने धीरजले माइलेज पनि राम्रो भएको बताए ।
सवारीसाधनमा सौखिन हिरोका रूपमा चिनिन्छन् भुवन केसी । नयाँ मोडलको गाडी देख्नेबित्तिकै आँखा लगाइहाल्ने भुवनले गाडी आफ्नो सोख नभएर बाध्यता भएको बताए । अभिनयकर्ममा सक्रिय कलाकारमध्ये मह जोडी, नायक राजेश हमाल, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, धिरेन शाक्यलगायतले निजी सवारीसाधन प्रयोग गर्दै आएका छन् । तर, धेरैजसो नायिकाको निजी सवारीसाधन छैन । फिल्मीकर्मीको सूचीमा 'हट हिरोइन' मानिने रेखा थापासँग इटालियन ब्रान्डको फेट् पिलो कार छ, सिल्भर कलरको । गाडी किन्नुको कारण ? रेखा हाकाहाकी भन्छिन्, 'मैले त सोखका लागि गाडी किनेँ ।' अर्को पनि कारण सुनाइन्, 'ट्याक्सी चढ्दा पैसा पनि धेरै खर्च हुन्थ्यो र भनेको वेलामा पाइँदैनथ्यो ।' पहिला रातो रङको अल्टो कार थियो उनसँग । अल्टोगाडी सार्है सानो भएकाले नयाँ हेब्बी कार किनेको सुनाइन् ।
गाडी हुनुको फाइदा र बेफाइदा दुवै अनुभव गरेकी छिन् उनले । राजधानी सहरमा आफ्नै गाडी हुइँकिदा मज्जा आए पनि वेलावेला इन्धनको सर्टेज हुँदा सार्है दिक्क लाग्छ उनलाई । अर्को बेफाइदाको कुरा गरिन्, 'गाडी रोकेर सुटिङमा गयो बेलुका आउँदा कोरेको डाम देखिन्छ । कतिले त गाडीमा नङले कोरेर 'आइलभ यू' लेखिदिने गरेको गुनासो गरिन् ।
saabar naya patrikaa
No comments:
Post a Comment