
कलेन्द्र सेजुवाल/नयाँ पत्रिका
सुर्खेत, १० फागुन
2009-02-22,Sunday
वैदेशिक रोजगारी दिलाउने बहानामा भारत लगिएकी एक किशोरी आफ्नो मिर्गौला झिक्न लागिएको थाहा पाएपछि भागेर घर आएकी छिन् । दिल्ली पुर्याइएको एक सातापछि उनले आफ्नो मिर्गौला झिक्ने षड्यन्त्र थाहा पाएकी थिइन् ।
सुर्खेत छिन्चुकी १५ वर्षीया केसकुमारी रावत मूलप्रवाह अखिल भारतीय एकता समाजको सहयोगमा शनिबार घर फर्केकी हुन् । घर-परिवारलाई प्रलोभनमा पारेर उनलाई ८ माघमा दिल्ली लगिएको थियो । ठूलो कमाइ हुने आशामा केसकुमारीका बाबु खड्कबहादुर आफैंले छोरीलाई दिल्लीमा छाडेर आएका थिए ।
चितवन गितानगर-९ घर भई दिल्लीस्थित साउदी दूतावासमा ड्राइभरमा कार्यरत विष्णु ढकाल र बर्दिया तारातालका वसन्त बञ्जाडेको मिलेमतोमा आफ्नो मिर्गौला झिक्ने प्रयास भएको बालिकाले बताइन् । बञ्जाडे केसकुमारीका भिनाजु पर्छन् ।
दिल्लीसम्म पुर्याउन केसकुमारीका बुबा खड्कबहादुर पनि गएका थिए । तर, त्यहाँ पुगेको तीन दिनपछि ढकालले खड्कबहादुर र बञ्जाडेलाई फिर्ता पठाए । बुबा र भिनाजु फर्किएपछि स्वास्थ्य परीक्षण गर्ने भन्दै ढकालले विभिन्न मेडिकलमा लग्न थालेको केसकुमारीले बताइन् ।
सोही क्रममा एउटा मेडिकलमा डाक्टरले 'तिम्रो किड्नी झिक्नुपर्छ, के गर्छौ ?' भनेर सोधेपछि आफूमाथि षड्यन्त्र भएको चाल पाइन् ।
'त्यो दिन मलाई १२ नम्बर बेडमा भर्ना गरिएको थियो, डाक्टरले आएर किड्नी झिक्ने कुरा गरेपछि म चिच्याउँदै बाहिर निस्किएँ,' केसकुमारीले भनिन्, 'त्यहाँ नजिकै केही नेपाली बस्दा रहेछन्, उनीहरूले मलाई एकता समाजका मान्छेसँग बुझाए ।'
त्यसअघि आफूलाई विभिन्न पाँचवटा मेडिकलमा लगेर रगत जाँच गराएको उनले बताइन् । तीमध्ये स्यांगी मेडिकलको नाममात्र उनलाई याद छ । केसकुमारीका अनुसार मेडिकलबाट बाहिरिएपछि ढकालले उनलाई गाली गरेका थिए । उनले 'मैले पनि किड्नी झिकेको छु, केही फरक पर्दैन' भन्दै हकारेको केसकुमारीले बताइन् । यद्यपि, उनी त्यहाँ नरोकिई नेपालीको सम्पर्कमा पुगिन् ।
'त्यसको भोलिपल्टै म र एकता समाजका मान्छेहरू उनको डेरा गयाँ, तर उनी डेरा सरिसकेका रहेछन्,' उनले भनिन्, 'पाँचवटा मोबाइल नम्बर दिएका थिए, अहिले सबै स्विच अफ छन् ।'
एकता समाजले केसकुमारीलाई राष्ट्रिय जनमोर्चा सुर्खेतमार्फत परिवारलाई हस्तान्तरण गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गरिबीको फाइदा उठाउँदै नेपाली चेली र उनीहरूका अंगप्रत्यांग बेचविखन गर्नेलाई कारबाही गरिनुपर्ने बताए ।
छिन्चुबाट छोरी बुझ्न आएका खड्कबहादुरले जिउँदै मर्न लागेकी छोरी फर्किएकोमा खुसी व्यक्त गरे । उनले भने, 'नाता पर्ने मान्छेले नै राम्रो कमाइ हुन्छ भनेपछि ऋणजोहो गरेर छोरीलाई पठाएँ, तर दुष्टहरूले अर्कै षड्यन्त्र गरेछन् ।' उनले मिर्गौला बेचविखनमा संलग्नलाई कारबाही गरी उनीहरूबाट आफ्नो रकम असुलउपर गराउन माग गरेका छन् । विदेश पठाउने शुल्कस्वरूप बञ्जाडेलाई ३० हजार रुपैयाँ दिएको उनले बताए ।
किशोरी भन्छिन् :
म शारदा मावि छिन्चुमा सात कक्षामा पढ्छु । घरको आर्थिक अवस्था कमजोर छ । आमा-बुबालाई सधैं कति दुःख दिने भन्ने चिन्ता लागिरहन्छ । एक दिन भिनाजु नाता पर्ने वसन्त बञ्जाडेले मलाई विदेश जाने कुरा गरे । सुरुमा त पत्यार लागेन । तर, उनले 'त्यहाँ गएपछि टन्नै पैसा कमाइन्छ, जीवन बन्छ, घरमा पनि राम्रो हुन्छ' भनेर फकाए । उनले घरमा आमा-बुबासँग पनि कुरा गरेँ । त्यति भएपछि मैले ठीकै छ भनेर सहमति जनाएँ ।
पहिलोपटक हामी मंसिर २५ गते बर्दियाको मुर्तिया नाकाबाट दिल्ली गयाँ । नाकामा प्रहरीले सोधेपछि बञ्जाडेले 'बिरामी हो, जाँच गर्न जाने' भनेर कागजपत्र देखाए । दिल्ली पुगेपछि मलाई विष्णु ढकालको डेरामा राखियो । १५ दिन बित्यो, तर उड्ने निश्चित भएन । अन्तिममा 'तिम्रो किड्नी खराब छ, उपचार गर्नुपर्छ' भनेर नेपाल पठाए ।
बञ्जाडेले मलाई दोस्रोपटक माघ ८ गते दिल्ली लगे । त्यतिवेला बुबा पनि सँगै जानुभयो । तर, त्यहाँ पुगेको तीन दिनसम्म पनि टिकट नभएपछि विष्णु ढकालले 'यहाँ बसेर काम छैन, बेकार खर्च किन बढाउने' भन्दै बुबालाई नेपाल फर्किन लगाए ।
त्यसपछि भने मलाई ढकालले चेक गर्नुपर्छ भन्दै दिल्लीका विभिन्न मेडिकलमा लग्यो । करिब पाँच ठाउँमा लग्यो होला । तर, स्यांगी मेडिकलको नाममात्र याद छ । जता लगे पनि रगतमात्र निकाल्थे, केही भन्दैनथे । अन्तिममा मलाई एउटा मेडिकलमा लगेर भर्ना गरियो । मेडिकलको नाम याद भएन, तर बेड नं. १२ मा राखिएको थियो । विष्णु बाहिरै उभिएका थिए, डाक्टर आएर 'तिम्रो किड्नी झिक्नुपर्छ, के भन्छौ ?' भनेर सोधे । त्यसपछि म झिक्दिन भन्दै चिच्याएँ । र, बेडबाट उठेर बाहिर निस्किएँ । म बाहिर आएपछि विष्णुले निकै गाली गर्यो । 'मेरो पनि झिकेको छु' केही फरक पर्दैन भनेर सम्झाउन पनि खोज्यो । तर, म ठूल्ठूलो स्वरमा रुन थालेपछि ऊ भाग्यो ।
नजिकै केही नेपाली दिदी र दाइहरू बस्दा रहेछन् । उनीहरूले मलाई आफूसँग लगे । र, उनीहरूले नै एकता समाज (मूलप्रवाह अखिल भारतीय एकता समाज) सँग सम्पर्क गरेर मलाई बुझाए । म एकता समाजकै सहयोगमा नेपाल (घर) फर्किएँ । मैले आफूलाई नयाँ जीवन पाएको महसुस गरेकी छु ।




No comments:
Post a Comment