'गाउँमा हलो जोत्दा पनि कलाकारहरूको नक्कल गरिरहेको देख्दा गाउलेहरूले बौलाएछ भन्थे तर किनकिन म सानैदेखि ठूलो मान्छे बन्ने कल्पना गर्थेँ ।' हुने बिरुवाको चिल्लो पात भनेझैँ दस वर्ष अगाडि नै उज्यालो भविष्यको कल्पना गर्ने एउटा युवकको चाहना लामो समयको सङ्घर्षपश्चात् यथार्थ बनेर झुल्किएको छ ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ प्रसारण हुने टेलिफिल्म 'ए मेरी बास्सै' का कलाकार तथा निर्देशकसमेत रहनुभएका प्रसिद्ध हाँस्य कलाकार 'धुर्मुस' अर्थात् सीताराम कट्टेल हिजोआज आम दर्शकको ढुकढुकी बन्नुभएको छ ।
२०४० सालमा सोलुखुम्बु जिल्लाको नेचावेदमा जन्मनुभएका कट्टेल एसएलसीसम्मको अध्ययनपछि बाँकी पढाइ र राम्रो जागिरको आशमा मनभरि सपना पालेर राजधानी छिर्नुभयो । कसलाई थाहा थियो र उहाँभित्र जन्मसिद्ध पाएको कलाको अपार वरदान छ भनेर साथमा सत्रसय रुपियाँ लिएर पहिलोपटक काठमाडौँ आएको राजा वीरेन्द्र मरेको दिन पो रहेछ, ताजै थियो उहाँको स्मरण ।
एकपटक देखेकै भरमा जस्तोसुकै बोलीको नक्कल गर्नसक्ने खुबी भए पनि पातलो शरीर, ख्याउटे अनुहार भर्खर गाउँबाट भर्खरै आएको केटो, त्यतिबेला सीतारामलाई पत्याएर काम दिने आँट कसैले गरेनन् । आजभोलि नाम, दाम र सफलताको भरपूर युवा कलाकार जसले दुई छाक खान यो राजधानीको प्रत्येक सडक र गल्ली चाहारेको सङ्घर्ष पनि धेरै नै दुखदायी रहेछ । सन्तोष पन्तको 'हिजोआजका कुरा' मा खेल्नको लागि मात्रै एक वर्ष जति धाएको दुखेसोलाई पनि सीतारामले कहाँ बिर्सनुभएको छ र ? 'शरणमा परेपछि बल्ल एक डाइलग बोल्न दिनुभयो ।' विगत सम्झदा अहिले पनि सीतारामलाई नरमाइलो लाग्छ तर ती सङ्घर्षमय दिनहरूले सिकाएको पाठले नै आज सफल जीवनको मार्ग कोरेकोमा फेरी उहाँ खुसी पनि देखिनुहुन्छ । आफूमा भएको कला देखाउने अवसर नपाएर भौँतारिरहँदा २०६० साल असोज १० गते नेपाल टेलिभिजनबाट प्रसारण हुने 'गिताञ्जली' कार्यक्रममा आफ़्नो खुबी देखाउने अवसर पाएपछि भने सीतारामको अन्तरआत्मादेखि नै कुण्ठित बाल्यकालदेखिकै चाहानाको बाटो खुल्यो । अनि त 'जिरे खुर्सानी', 'गाइजात्रा' हुँदै सफलताको अर्को गन्तव्यको तय गर्यो 'ए मेरी बास्सै' सम्म तर धक फुकाएर आफ़्नो खुवी देखाउने अवसर पाएको 'धुर्मुस' चरित्रको अभिनय मन नपराउने सायदै होलान् । एउटा पाखे, गाउँले, अनपढ युवकको भूमिकामा दर्शकले चिनेको धुर्मुसलाई राम्रो लुगा लगाएर बाहिर भने कसैले चिन्दैनन् ।
'एउटै भूमिकामा भए पो दर्शकले पनि अड्कल गर्नु, मेरी बास्सैमा नौवटा भिन्दाभिन्दै भूमिका र एउटै व्यक्तिको सातवटा नक्कल गरेको छु ।' टेलिभिजन कार्यक्रमकै इतिहासमा यस्तो भूमिका कसैले नगरेको विश्वास छ उहाँलाई । सीतारामको लागि दरिलो भाग्य परीक्षा नै बनेको मेरी बास्सैमा अनौठोरूपमा श्रीमती र श्रीमानको भूमिकामा प्रस्तुत हुँदै आएका यी दुई बीचको सम्बन्ध अब विधिवत्रूपमै वैवाहिक सूत्रमा बाँधिएको छ । काम गर्दै जानेक्रममा दुईवर्ष अगाडि नै कुञ्जन अर्थात् सुन्तलीसँग विवाहको प्रस्ताव राख्दा निराश बन्नुपरेको सीतारामलाई यसपालीको मङ्सिरमा भने लगन जुरेरै छाड्यो ।
गाउँमा पहिलोपटक टेलिभिजनमा महजोडीको 'कान्तिपुर' देखेका सीताराम हरिवंशको अभिनयबाट अत्यधिक प्रभावित हुनुभयो । उनलाई जीवनमा असाध्यै मनपर्ने व्यक्तिमध्ये हरिवंश आचार्य पनि हो । हरिवंशलाई नै आफ़्नो जीवनको उत्प्रेरणा स्रोत मान्ने हाँस्य कलाकार सीतारामले अबदेखि श्रीमती कुञ्जना अर्थात् सुन्तलीसँगको सहकार्यमा आ-आफ़्नै नयाँ शैलीको पहिचान बनाउने र दर्शकलाई भिन्दै खालको मनोरञ्जन प्रदान गर्ने सोचमा हुनुहुन्छ । * समुद्रपारि
No comments:
Post a Comment